नैतिक शिक्षा र संस्कारको केन्द्र सल्यानको कालिका आधारभूत विद्यालयले जेठ १० गते ४६औं वार्षिकोत्सव मनाउने
प्रोफाईल खबर
६ जेठ २०८३, बुधवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- सल्यानको श्री कालिका आधारभूत विद्यालयले २०८३ जेठ १० गते आफ्नो ४६औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ।
- विद्यालयले किताबी ज्ञानका साथै विद्यार्थीहरूलाई संस्कार, संस्कृति र नैतिक शिक्षा प्रदान गरी असल नागरिक बनाउन जोड दिँदै आएको छ।
- प्रधानाध्यापक बालाराम वलीको कुशल नेतृत्वले विद्यालयले शैक्षिक र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको छ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ५, लेखपोखरास्थित श्री कालिका आधारभूत विद्यालयले आफ्नो स्थापनाको ४६औं वर्षगाँठ आगामी २०८३ साल जेठ १० गते आइतबार भव्य रूपमा मनाउने भएको छ। विद्यालयले सोही दिन ४६औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालय प्राङ्गणमा एक विशेष समारोहको आयोजना गर्न लागेको हो। "शिक्षा एउटा सानो प्रयासबाट सुरु हो, यसबाट संसार नियमबद्ध सुन्दर हुन्छ" भन्ने मूल आदर्श वाक्यलाई आत्मसाथ गर्दै स्थापना कालदेखि नै यस क्षेत्रको शैक्षिक र सामाजिक रूपान्तरणमा विद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
वर्तमान समयमा आधुनिकताका नाममा मौलिक पहिचान र संस्कृति हराउँदै गइरहेका बेला श्री कालिका आधारभूत विद्यालयले भने विद्यार्थीहरूमा जगैदेखि संस्कारयुक्त शिक्षाको बीजारोपण गरिरहेको छ। विद्यालयमा केवल घोकन्ते विद्या वा परीक्षा उत्तीर्ण गर्ने उद्देश्यले मात्र पढाइँदैन। यहाँ किताबी ज्ञानका अलावा विद्यार्थीहरूलाई समाजमा असल नागरिक बन्न आवश्यक पर्ने नैतिक शिक्षा, सभ्यता, परम्परा, रीतिरिवाज र हाम्रा परापूर्वकालदेखिका मूल्य मान्यताहरूका बारेमा व्यावहारिक ज्ञान प्रदान गरिँदै आएको छ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूलाई आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्न सिकाउनु आजको प्रमुख आवश्यकता हो। यही आवश्यकतालाई मनन गर्दै विद्यालयले दैनिक प्रार्थना सभादेखि अतिरिक्त क्रियाकलापहरूमा समेत संस्कार र सदाचारका विषयहरूलाई प्राथमिकता दिँदै आएको छ। जसका कारण यहाँ अध्ययनरत बालबालिकाहरूमा सहयोगी भावना, आदर-सत्कार र अनुशासनको उच्च विकास भएको पाइन्छ।
यो विद्यालय अन्य परम्परागत शिक्षण संस्थाभन्दा फरक हुनुको अर्को मुख्य कारण यहाँ हुने समसामयिक विषयहरूको अध्यापन र छलफल पनि हो। विद्यार्थीहरूलाई समाज, देश र विश्व परिवेशमा घटिरहेका तात्कालिक घटनाक्रम, सूचना प्रविधि, वातावरणीय सन्तुलन, र नागरिक अधिकार तथा कर्तव्यका बारेमा नियमित रूपमा सचेत गराइन्छ।
विद्यालयमा आयोजना गरिने विशेष अन्तर्क्रिया र विमर्श कक्षाहरूले विद्यार्थीहरूमा तार्किक क्षमताको विकास गर्नुका साथै उनीहरूलाई समाजका हरेक सुख-दुःख र घटनाक्रमसँग एकाकार हुन सिकाएको छ। किताबको घेराभन्दा बाहिर निस्किएर संसारलाई बुझ्न सक्ने बनाउनु नै विद्यालयको मुख्य लक्ष्य रहेको छ।
यस विद्यालयको यो चौतर्फी सफलता र विशिष्ट पहिचानको श्रेय कुशल नेतृत्वकर्ता एवं प्रधानाध्यापक बालाराम वलीलाई जान्छ। उहाँ केवल विद्यालयको प्रशासनिक नेतृत्व सम्हाल्ने ओहोदाधारी मात्र हुनुहुन्न, समग्र लेखपोखरा क्षेत्रका विद्यार्थी, युवा र समाजकै एक सच्चा मार्गदर्शक हुनुहुन्छ। उहाँको अथक मिहिनेत, दुरदर्शी सोच र शिक्षाप्रतिको समर्पणले गर्दा नै विद्यालयले आज यो उचाई हासिल गर्न सफल भएको स्थानीयबासीहरू बताउँछन्।
प्रधानाध्यापक वलीले हरेक विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूलाई सही दिशा निर्देश गर्न व्यक्तिगत रूपमा ध्यान दिँदै आउनुभएको छ। उहाँको सरल स्वभाव, प्रेरणादायी मार्गदर्शन र अभिभावकीय भूमिकाकै कारण आज लेखपोखराका प्रत्येक घरधुरीले उहाँलाई विद्यालयको शिक्षक मात्र नभई आफ्नो समाजको अभिन्न अभिभावकका रूपमा सम्मान गर्ने गर्दछन्।
जेठ १० गते आयोजना हुने ४६औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि अहिले विद्यालय परिवार, व्यवस्थापन समिति र स्थानीय समुदाय एकाकार भएर तयारीमा जुटेका छन्। समारोहलाई थप आकर्षक र उत्सवमय बनाउन विद्यार्थीहरूले लामो समयदेखि विविध शैक्षिक प्रदर्शनी, मौलिक सांस्कृतिक प्रस्तुतिहरू (जसमा स्थानीय लोक संस्कृति झल्किने नृत्य तथा नाटकहरू समावेश छन्) र खेलकुद प्रतियोगिताहरूको तयारी तीव्र पारेका छन्। सोही अवसरमा वर्षभरि उत्कृष्ट अङ्क ल्याउने र विभिन्न विधामा प्रथम हुने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिने विद्यालयले जनाएको छ।
प्रधानाध्यापक बालाराम वलीले एक निमन्त्रणा पत्र जारी गर्दै यस गौरवमय र ऐतिहासिक उत्सवमा उपस्थित भई विद्यार्थीहरूको हौसला बढाउन र कार्यक्रमको गरिमा थपिदिनुहुन सल्यानबासी लगायत सम्पूर्ण आदरणीय अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा सरोकारवाला निकायहरूमा हार्दिक निमन्त्रणा एवं विनम्र अनुरोध गर्नुभएको छ।


प्रोफाईल खबर