आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाइँदै रामनवमी
प्रोफाईल खबर
१३ चैत २०८२, शुक्रवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- रामनवमी देशभर भगवान् श्रीरामचन्द्रको जन्मजयन्तीका रूपमा श्रद्धापूर्वक मनाइँदैछ; यस अवसरमा सार्वजनिक बिदा पनि दिइएको छ।
- त्रेता युगमा अयोध्याका राजा दशरथका सुपुत्रका रूपमा भगवान् विष्णुको सातौँ अवतार श्रीरामको जन्म यसै पावन दिनमा भएको मानिन्छ।
- यो पर्वले सत्य, न्याय, अनुशासन र आदर्श शासनको सन्देश दिन्छ; पूजा, व्रत तथा पवित्र स्नान गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ।
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व रामनवमी आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ । यस अवसरमा नेपाल सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
धार्मिक मान्यताअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म आजकै पावन दिनमा भएको थियो । हिन्दू धर्मग्रन्थहरूले उनलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा वर्णन गरेका छन् ।
ज्योतिषीय मान्यताअनुसार पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमा र वृहस्पतिको विशेष योग रहेको उल्लेख पाइन्छ । साथै सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ पर्ने दुर्लभ ग्रहयोग परेको विश्वास पनि गरिन्छ ।
वासन्तीय नवरात्रको नवमीका दिन जन्मिएका भगवान् रामले अधर्म र अन्यायको अन्त्य गर्दै आदर्श ‘रामराज्य’ स्थापना गरेका थिए । यसैले रामनवमीले सत्य, न्याय, अनुशासन र उत्तरदायी शासनको सन्देश दिने विश्वास गरिन्छ ।
धार्मिक ग्रन्थहरूका अनुसार चैत्र अष्टमीमा अष्टमातृकाको पूजा गरी नवमीका दिन भगवान् रामको जप, पाठ र ध्यान गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । ‘व्रतार्क’ र अगस्त्य संहितामा यस दिन व्रत बस्दा पाप नाश भई मोक्ष प्राप्त हुने उल्लेख गरिएको छ ।
यस अवसरमा रामजानकी मन्दिर तथा अयोध्यामा विशेष मेला लाग्ने गर्दछ । ती स्थलहरूमा हजारौँ श्रद्धालु भक्तजनको भीड लाग्ने, रामलीला प्रदर्शन, भजन–कीर्तन तथा विशेष पूजा आयोजना हुने गर्दछ ।
परम्पराअनुसार आजका दिन पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी रामायण वाचन गर्ने चलन छ । विशेषगरी भानुभक्त, तुलसीदास र वाल्मीकि कृत रामायणको पाठ गरिन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने रामनवमी पर्वले समाजलाई सत्य, धर्म र कर्तव्यनिष्ठ जीवनतर्फ अग्रसर गराउने सन्देश दिने विश्वास गरिएको छ ।


प्रोफाईल खबर