आज सरस्वती पूजा : किन र कसरी मनाइन्छ ?
प्रोफाईल खबर
९ माघ २०८२, शुक्रवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- सरस्वती पूजा ज्ञान, विद्या, संगीत र कलाकी देवी सरस्वतीको श्रद्धापूर्वक आराधना गरिने 'बसन्त पञ्चमी' पर्व हो।
- यो दिन कुनै पनि शुभ कार्य प्रारम्भ गर्न, बालबालिकालाई अक्षरारम्भ गराउन तथा ज्ञानको पर्वका रूपमा हिन्दू र बौद्ध दुवै समुदायमा मनाइन्छ।
- वसन्त ऋतुको सुरुवातको प्रतीक पनि मानिने यो पर्वले जीवनमा विद्या र ज्ञानको अपरिहार्य महत्वलाई दर्शाउँछ।
आज देशभर सरस्वती पूजा श्रद्धा र भक्तिसाथ मनाइँदै छ । ज्ञान, विद्या, संगीत, कला र साहित्यकी देवी सरस्वतीको पूजा आराधना गरिने यस दिनलाई ‘बसन्त पञ्चमी’ तथा ‘श्रीपञ्चमी’ पनि भनिन्छ ।
हिन्दू धर्मग्रन्थअनुसार श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, रत्नजडित आभूषणले सुशोभित देवी सरस्वती चार हातमा वीणा, पुस्तक, स्फटिकको माला र अभय मुद्रामा विराजमान रहेको स्वरूपमा चित्रित गरिन्छ । शास्त्रले उल्लेख गरेअनुसार उनका यी सबै स्वरूप र प्रतीकहरूको आ–आफ्नै अर्थ रहेको छ ।
देवी सरस्वतीले हातमा लिएको वीणाले जीवनलाई संगीतजस्तै लयबद्ध र मधुर बनाउनुपर्ने सन्देश दिन्छ । पुस्तकले विद्या र ज्ञानको महत्व जनाउँछ भने स्फटिकको मालाले निष्ठा, साधना र सात्त्विक जीवनशैलीको प्रतीकात्मक अर्थ बोकेको मानिन्छ ।
सरस्वतीको चित्रसँगै देखिने मयुरलाई उनका वाहनका रूपमा लिइन्छ । मयुर सौन्दर्य र मधुर स्वरको प्रतीक हो । यसबाट ‘विद्या नै मानिसको साँचो सौन्दर्य हो’ भन्ने सन्देश प्रवाहित हुने धार्मिक विश्वास छ ।
ज्योतिष शास्त्रअनुसार सरस्वती पूजा अर्थात बसन्त पञ्चमी कुनै पनि शुभ कार्य प्रारम्भ गर्नका लागि उत्तम साइत मानिन्छ । यही कारण आजको दिन कुनै विशेष मुहूर्त नहेरी नयाँ काम सुरु गर्ने प्रचलन छ । साना बालबालिकालाई अक्षर लेख्न सिकाउने ‘अक्षराम्भ’ संस्कार पनि यसै दिन गरिन्छ ।
हिन्दू परम्परामा लक्ष्मी, दुर्गा र सरस्वतीलाई मुख्य तीन देवीका रूपमा पूजा गरिन्छ । लक्ष्मी धनकी देवी, दुर्गा शक्तिकी देवी र सरस्वती विद्याकी देवी मानिन्छन् । धार्मिक मान्यताअनुसार जीवनमा पूर्णता प्राप्त गर्न धन, शक्ति र विद्या तीनै आवश्यक हुन्छन् । आज विद्या र ज्ञानको आराधना गर्ने विशेष दिनका रूपमा सरस्वती पूजा मनाइन्छ ।
बौद्ध धर्मावलम्बीहरूले पनि आजको दिनलाई ज्ञानको प्रतीक बोधिसत्व मञ्जुश्रीको पूजा गर्ने दिनका रूपमा मनाउँछन् । यसरी सरस्वती पूजा हिन्दू र बौद्ध दुवै समुदायमा ज्ञान र चेतनाको पर्वका रूपमा स्थापित छ ।
आजको दिन वसन्त ऋतुको सुरुवात हुने भएकाले यसलाई बसन्त पञ्चमी भनिएको हो । वसन्तलाई ऋतुहरूको राजा मानिन्छ, जसले प्रकृतिमा नयाँ जीवन, उत्साह र उल्लास ल्याउने विश्वास छ ।
सरस्वती पूजाका दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नि, विष्णु, शिव लगायतका देवताको पूजा पश्चात सरस्वतीको आराधना गरिन्छ । देवीलाई नैवेद्यका रूपमा दूध, दही, नौनी, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो फूल, सेतो वस्त्र, चन्दन र शङ्ख चढाउने चलन पनि रहेको छ ।


प्रोफाईल खबर