४ वैशाख २०८३, शुक्रवार

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै

प्रोफाईल खबर ४ वैशाख २०८३, शुक्रवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • आज वैशाख कृष्ण औँसीका दिन देशभर आमाको मुख हेर्ने पर्व श्रद्धापूर्वक मनाइँदैछ।
  • यस दिन सन्तानले जीवित आमालाई सम्मान गरी आशीर्वाद लिन्छन् भने दिवङ्गत आमाको सम्झनामा तर्पण दिइन्छ।
  • शास्त्रअनुसार आमालाई स्वर्गभन्दा पनि महान् मानी उच्च महत्व दिइएको छ।

आज वैशाख कृष्ण पक्षको औँसीका दिन जन्मदिने आमाप्रति सम्मान व्यक्त गर्दै मनाइने आमाको मुख हेर्ने पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ।

प्रत्येक वर्ष यस दिन छोराछोरीले आफ्नी आमालाई मीठा–मीठा खानेकुरा खुवाउने, राम्रा लुगा लगाइदिने तथा आशीर्वाद लिने चलन छ। बिहानै नुहाईधोई आमाको सम्मान गर्ने यो परम्परा नेपाली समाजमा विशेष महत्वका साथ मनाइन्छ।

शास्त्रीय परम्पराअनुसार उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमालाई ठूलो मानिन्छ। त्यसैले आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्ने दिनका रूपमा यो पर्वलाई विशेष रूपमा लिइन्छ।

आमा नभएकाहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने चलन छ। यसरी दिवङ्गत आमाले जीवनभर गरेका त्याग, माया र कष्टको सम्झना गरिन्छ।

सनातन वैदिक शास्त्रमा प्रत्येक मानिसले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख गरिएको छ। वैदिक ग्रन्थमा “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् भन्ने भाव व्यक्त गरिएको धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले बताउनुभएको छ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अत्यन्त उच्च मानिन्छ। शास्त्रीय ग्रन्थहरूमा बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने उल्लेख पाइन्छ।

यसै अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ। 

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट