अस्वाभाविक महत्त्वाकांक्षा छोडेर बृहत एकतामा जुटौँ : पूर्णबहादुर खड्का
प्रोफाईल खबर
२६ फागुन २०८२, मङ्गलवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जित्दा यो परिणामले पार्टीका नेताकर्मीलाई गम्भीर सन्देश दिएको छ।
- नेता खड्काले आवेग र बदलाको भावना छाडी विगतको निर्मम समीक्षा गर्दै बृहत् पार्टी एकता आवश्यक भएको बताएका छन्।
- यसैबीच, सभापति गगन थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव गरे पनि उपसभापति शर्माले तत्काल नदिन सुझाएका छन्।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको उनले बताएका हुन्। उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ।
सामाजिक सञ्जाल एक्समा लेख्दै खड्काले निर्वाचन परिणामले विशेषगरी पार्टीका विभिन्न तहमा जिम्मेवारीमा रहेका नेताकर्मीलाई गम्भीर सन्देश दिएको बताएका छन्।
“प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेष गरी विभिन्न तहमा जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीहरूलाई हाम्रा भगवानरूपी मतदाताहरूको निर्णयमार्फत गम्भीर सन्देश दिएको छ,” उनले लेखेका छन्।
कांग्रेसमा विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति बनेको थियो, जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। तर उक्त निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र नेता खड्का सर्वोच्च अदालत पुगेका थिए। यही बीचमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो।
खड्काले अब पार्टीभित्र आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर संयम र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन्।
“हामी सबैले विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्त्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भई पार्टीको व्यापक एकताका लागि निष्ठा र समर्पणका साथ अघि बढ्नु नै हाम्रो नैतिक कर्तव्य हो,” उनले भनेका छन्।
उनले अहिले कांग्रेसका अगाडि ‘हिमालयन चुनौती’ खडा भएको उल्लेख गर्दै त्यसको सामना गर्न पार्टीभित्र बृहत एकता आवश्यक रहेको बताएका छन्।
यसैबीच सभापति गगन थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने विषय उपसभापति विश्वप्रकाश शर्मासँग राखेका छन्। तर शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्।


प्रोफाईल खबर