२१ फागुन २०८२, बिहिवार

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्ति यी मतदान केन्द्रबाट मतदान गर्ने

प्रोफाईल खबर २१ फागुन २०८२, बिहिवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री, पूर्वराष्ट्रपति, विभिन्न दलका नेतासहित मुलुकका अतिविशिष्ट पदाधिकारीहरूले आज मतदान गर्दैछन्।
  • उनीहरूले आ-आफ्नो मतदान केन्द्रमा भोट हाल्नेछन्; पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने मुलुक बाहिर रहेकाले मतदानमा सहभागी हुने छैनन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले आज तोकिएका मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । उनीहरूले यसअघिका निर्वाचनमा जस्तै आआफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई मतदान गर्नेछन् ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

कांग्रेस सभापित गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन् । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नेछन् । सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।

पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला भए पनि यसपटक उनी मुलुक बाहिर रहेकाले मतदान गर्ने छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नेछन् ।नेकपा संयोजक पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । सहसंयोजक माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । झलनाथ खनालको नाम इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा समावेश छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्नेछन् । निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा मतदान केन्द्रबाट मतदान गर्नेछन् । आयुक्त सगुन शम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । मुख्यसचिव सुमनराज अर्यालले गोकर्णेश्वर नगरपालिका–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रबाट मतदान गर्नेछन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्नेछन् ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नेताहरु प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल, शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय, नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गर्नेछन् । शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्र र योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ कविशिरोमणि मावि, विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ श्री राजेश्वर निधि मावि, कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० कलवलगुडी आधारभूत विद्यालय (क) मतदान केन्द्र र ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्र, जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्र र वर्षमान पुनले रोल्पा नगरपालिका–७ बालउदय मावि माडीचौर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

डिपी अर्यालले काठमाडौँ महानगरपालिका–१६ र स्वर्णिम वाग्लेले गोरखा सहिद लखन थापा गाउँपालिकाबाट मतदान गर्नेछन् ।
 

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट