२१ माघ २०८२, बुधवार

सर्लाही–३ बाट कांग्रेस उम्मेदवार बिनोद खनाल मैदानमा, ६ बुँदे विकास प्रतिबद्धता सार्वजनिक

प्रोफाईल खबर १२ माघ २०८२, सोमवार

काठमाडौँ, नेपाली कांग्रेसका तर्फबाट सर्लाही क्षेत्र नं. ३ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बिनोद खनालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक अभिवादन व्यक्त गर्दै उनले लोकतान्त्रिक आन्दोलनका संवाहक जननायक बिपी कोइरालाको विचार र समृद्धिको मार्गचित्रलाई आत्मसात गर्दै उम्मेदवारी दिएको बताए। उम्मेदवार खनालले सर्लाही सम्भावनाले भरिपूर्ण हुँदाहुँदै पनि अपेक्षित विकासबाट पछाडि परेको उल्लेख गर्दै अब पुरानै शैलीबाट होइन, नयाँ पुस्ताको जोस र अनुभवी पुस्ताको मार्गदर्शनलाई एकसाथ लिएर अघि बढ्ने स्पष्ट पारे। “सुन्दर र समृद्ध सर्लाही” निर्माण आफ्नो प्रमुख संकल्प रहेको उनको भनाइ छ।

विशेषगरी काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणपछि तराई र काठमाडौँबीचको दूरी घट्ने र त्यसले सर्लाहीमा आर्थिक क्रान्तिको आधार तयार गर्ने खनालको विश्वास छ। यस अवसरलाई सदुपयोग गर्दै सर्लाहीको मुहार फेर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको उनले बताए। ६ बुँदे मुख्य कार्ययोजना सार्वजनिक उम्मेदवार खनालले सर्लाहीको समग्र विकासका लागि ६ बुँदे मुख्य कार्ययोजना सार्वजनिक गरेका छन्।

कृषि क्रान्ति र सिँचाइको आधुनिकीकरण अन्तर्गत किसानलाई समयमै रासायनिक मल, उन्नत बीउ र आधुनिक कृषि उपकरण उपलब्ध गराइने, बाह्रै महिना सिँचाइ पुग्ने व्यवस्था मिलाइने र उखु लगायत नगदे बालीको भुक्तानी ढिलाइ अन्त्य गरिने प्रतिबद्धता जनाइएको छ। साथै ‘किसान पेन्सन’ को अवधारणालाई अघि बढाइने बताइएको छ। सडक पूर्वाधार र कनेक्टिभिटी मा फास्ट ट्र्याक र हुलाकी राजमार्गलाई जोड्ने रणनीतिक सडकहरूको स्तरोन्नति गरी सर्लाहीलाई ‘लजिस्टिक हब’ का रूपमा विकास गर्ने योजना अघि सारिएको छ।

शिक्षा र युवामैत्री कार्यक्रम अन्तर्गत प्रत्येक वडामा हाई-स्पीड इन्टरनेट र डिजिटल लर्निङ सेन्टर स्थापना गर्ने, सीपमूलक शिक्षा र स्टार्टअप प्रवर्द्धनमार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ। सुशासन र भ्रष्टाचार नियन्त्रण मा शून्य सहनशीलताको नीति अपनाइने, सरकारी सेवा सरल र पारदर्शी बनाइने तथा ‘हेलो सांसद’ कार्यक्रममार्फत जनताका गुनासा प्रत्यक्ष सुन्ने व्यवस्था गरिने बताइएको छ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग स्थापना गरी सर्लाहीलाई कृषिजन्य उद्योगको केन्द्र बनाउने योजना सार्वजनिक गरिएको छ। गरिबी निवारण र सामाजिक सुरक्षा अन्तर्गत विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा, गुणस्तरीय स्वास्थ्य सेवा र दलित तथा पिछडिएका वर्गका लागि विशेष आयआर्जन कार्यक्रम सञ्चालन गरिनेछ। “सपना होइन, काम गरेर देखाउँछु” उम्मेदवार खनालले आफू केवल आश्वासन बाँड्न होइन, परिणाम देखाउने उद्देश्यले उम्मेदवार बनेको स्पष्ट पारे।

“सर्लाहीको माटो र यहाँका जनताको पसिनाको मूल्य बुझ्ने उम्मेदवार म नै हुँ,” उनले भने। उनले सबैलाई गरिबी अन्त्य र समृद्ध सर्लाही निर्माणको महाअभियानमा सहभागी हुन आह्वान गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन्।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट