धार्मिक पर्यटकीय क्षेत्रको दृष्टिले नेपाल विश्वकै उत्कृष्ट गन्तव्यमा पर्छ । विश्वका झण्डै डेढ अर्ब हिन्दूका आस्थाको धरोहर पशुपतिनाथ यहीँ छन् । अब बौद्धधर्मावलम्बीका आस्थाकेन्द्र लुम्बिनी यहीँ छ । स्वयम्भूनाथ, मुक्तिनाथ, गोरखनाथ, चन्दननाथ, गोसाईंकुण्ड, दामोदरकुण्ड, वराहक्षेत्र, हरिहरक्षेत्र, जनकपुर, पाथीभरा, हलेसी महादेव यहाँका अन्य धार्मिक पर्यटकीय स्थल हुन्। हाम्रा दुई छिमेकी मुलुक भारत र चीन पनि धार्मिक पर्यटकीय दृष्टिले उत्तिकै सम्पन्न छन्। यहाँका धार्मिक पर्यटनलाई एकआपसमा समन्वय गरी त्रिदेशीय बनाउन सकिन्छ। यसले हाम्रा धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्धको गाँठोलाई अझ बढी मजबुत बनाउन सक्छ । आर्थिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण छ देखिन्छ यो ।
भारतको वैद्यनाथधाम, जसलाई बाबाधाम भनिन्छ । वैद्यनाथ द्वादश ज्योतिर्लिङ्गमध्येकै एउटामा पर्दछ । यहाँ वर्षौंदेखि साउन महिनाभर बोलबम मेला लाग्दै आएको छ । भारतका विभिन्न स्थानबाट भक्तजनहरू बोलबम मेला भर्न जाने गर्छन् त्यहाँ । यसैका कारण साउन महिनाभर भारतको रेल तथा बस स्टेशनहरूमा बढी कावरधारीहरूकै भीड देखिन्छ । नेपालमा पनि केही वर्षयता साउन माहिनामा बोलबमको मेला लाग्दै आएको छ । विशेषगरी सोमवारको दिन सुन्दरीजलबाट ल्याएको जलले पशुपतिनाथलाई अभिषेक गराउन चाहनेहरूको भीड ठूलै देखिन्छ । बिस्तारै यो क्रम अन्य शहर तथा गाउँघरतिर पनि बढ्दै गएको छ । यो राम्रो सुरूवात हो तर यतिले मात्र पुग्दैन। यसलाई बिस्तार गरेर भारतको बाबाधामसम्म पुऱ्याउनुपर्छ, पुऱ्याउन सकिन्छ । बाबाधाम जानेले पशुपति आउने र पशुपति आउनेले बाबाधामसम्म जाने गरी यसलाई प्याकेजमै व्यवस्थित गर्न सकिन्छ । यसले धार्मिक पर्यटनको क्षेत्रमा राम्रै प्रभाव पार्न सक्छ ।
केही वर्षअघि म्यानमारमा भएको बिमस्टेकको बैठकलाई सम्बोधन गर्ने क्रममा नेपालका तत्कालिन प्रधानमन्त्रिले बुद्धसर्किटको कुरा उठाएका थिए। त्यतिबेला उनको भनाइले निकै चर्चा पाएको थियो । यो अहिले पनि चर्चाकै विषय रहँदै आएको छ। पछिल्लो अवस्थामा ‘ज्योतिर्लिङ्ग सर्किट’को समेत कुरा उठ्न थालेको छ। रामजानकी ‘सर्किट’को पनि कुरा उठ्न थालेको छ । भारतीय भूभागमा रहेका द्वादश ज्योतिर्लिङ्गको दर्शनक्रमलाई नेपालको पशुपतिनाथ र चीनको मानसरोवरसम्म विस्तार गर्न सक्ने हो भने धार्मिक पर्यटनको क्षेत्रमा नयाँ आयाम थपिन सक्छ । यसलाई थप विस्तार गरी श्रीलङ्कासम्म पनि पुऱ्याउन सकिन्छ ।
समयले ‘बुद्धसर्किट’को माग पनि गरिसकेको छ र ‘ज्योतिर्लिङ्ग सर्किट’को माग पनि गर्न थालेको छ। रामजानकी ‘सर्किट’को माग पनि गरिसकेको छ । भगवान् शिवको १२ वटा ज्योतिर्लिङ्ग (विशेष लिङ्ग) भारतका विभिन्न स्थानमा छन् तर तिनका शिरोभाग आदिज्योतिर्लिङ्ग पशुपतिनाथ नेपालमा विराजमान छन्। पशुपतिनाथको दर्शन नगरी द्वादश ज्योतिर्लिङ्ग दर्शन पूरा हुँदैन भन्ने धार्मिक विश्वास छ । कैलाश मानसरोवर, जुन भगवान् शिवको मूल बासस्थान हो, यो हाल चिनीया भूभागमा पर्छ । यसलाई हिन्दू र बौद्ध दुवैले उत्तिकै श्रद्धा गर्छन्। द्वादश ज्योतिर्लिङ्ग परिक्रमापथलाई बढाएर चीनको कैलाश मानसरोवर हुँदै नेपालको पशुपतिनाथसम्म ल्याउन सकिन्छ । यसका निम्ति जति बढी बलियो आधार फेला पर्छ त्यति नै त्यसले धार्मिक पर्यटनको क्षेत्रमा नयाँ हलचल ल्याउनेमा आशावादी हुन सकिन्छ ।
केही वर्षअघि एक पर्यटन व्यवसायी मित्रले गफको सिलसिलामा भनेका थिए- ‘सरकारी सहयोग हुने हो भने एकै दिन कैलाश मानसरोवरको जल ल्याएर पशुपतिनाथमा चढाउन सकिन्छ ।’ खासगरी उनले यो विचार बोलबम मेलालाई लक्षित गरी व्यक्त गरेका थिए । उनकाअनुसार यसका लागि मानसरोवरबाट रातको १ बजे हीड्नुपर्छ, । आवत-जावतमा कुनै रोकटोक हुनुहुँदैन । यसका लागि नेपाल र चीन सरकारबीच यस निम्ति सम्झौता हुनुपर्छ । दुवै देशको सहयोगी भूमिका रहने हो भने उताबाट रातको १ बजे मानसरोवरको जल लिएर हिँडेका भक्तजन कोदारी राजमार्ग हुँदै त्यसैदिन साँझ ५ बजेसम्म पशुपतिमन्दिर छिरेर भगवान् पशुपतिलाई अभिषेक गराउन सक्छन् ।
पछि उनले यससम्बन्धी कुरा लिएर सरकारी निकाय धाएको पनि थाहा पाएको थिएँ। सरकारले नपत्याएपछि अन्य यस्तै हितैषीहरू सित हारगुहार लगाएको पनि सुनेको थिएँ तर राम्रो विचार पनि धन हुनेले मात्र दिन सक्छ भन्ने मान्यता रहेको समाजमा बिचरा ती सामान्य पर्यटन व्यवसायीको कसले सुन्थ्यो र ? पछि थाहा पाएँ कसैले पनि कुरा नसुनेपछि उन यससम्बन्धी विचार नै छाडिदिएछन्। यसरी एक जना पर्यटन व्यसायीको असल विचार र लामो अनुभव खेर गयो। एउटा राम्रो विचारको दुताउने नपाई हत्या गरियो। अन्यथा अहिलेसम्म ‘ज्योतिर्लिंग सर्किट ले नसही अन्य कुनै नामले भए पनि बहुराष्ट्रिय धार्मिक पर्यटनले मूर्त रूप पाइसक्ने थियो।
बहुराष्ट्रिय धार्मिक पर्यटन अहिलेको आवश्यकता हो। समयले यसको नाग गरिसकेको छ। आज नसही भोलि त्यतातिर पाइला चाल्नैपर्छ। भोलि जानैपर्छ भने आजै किन नसोच्ने भन्नेसम्मको आशय हो । ज्योतिर्लिंग परिक्रममा पथको अवधारणालाई अघि बढाउने हो भने यसका लागि सर्वप्रथम नेपाल, भारत र चीनबीच त्रिपक्षीय सम्झौता हुनुपर्छ। जहाँसम्म परिक्रममा पथ कसरी र कस्तो बनाउने तथा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा छ त्यसका लागि स्थान, बाटोको अवस्था र त्यस क्षेत्रमा पर्ने अन्य तीर्थ वा धार्मिक पर्यटकीय गन्तव्य स्थल आदिमा ध्यान दिनुपर्ने हुन्छ तर परिक्रमापथको सुरूवात भारतको वैद्यनाथधामबाट सुरू गरिनु मनासिब हुनेछ । त्यसपछि व्यावहारिक ढङ्गले बाटो र क्षेत्रगत अवस्थाको तारतम्य मिलाउनुपर्छ ।
मानसरोवरमा पुगेपछि त्यहाँ गर्नुपर्ने स्नान र धार्मिक कृत्य पूरा गरी पशुपतिनाथको दर्शनका लागि प्रस्थान गर्नुपर्ने हुन्छ। पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ, लुम्बिनी, जनकपुर, वराहक्षेत्र आदि स्थानमा जो जहाँ जान चाहन्छन् सोहीअनुसार मिलान गर्ने गरी अन्य सहायक कार्यक्रम बनाउन सकिन्छ । पर्यटकीय गन्तव्य स्थल बहुराष्ट्रिय भएकाले भ्रमणको अवधि लामो हुन सक्छ। यात्रुहरूको पोशाक वा अन्य यस्तै प्रक्रियाद्वारा छुट्टै पहिचान खुल्ने गरी हुलिया बनाउनेतर्फ पनि उत्तिकै ध्यान दिनुपर्छ ।
हाल तीर्थ यात्राका लागि संस्थागत प्रयास हुँदै आएका छन् । निश्चित शुल्क लिएर विभिन्न सङ्घ-संस्थाहरूले गाँस, बास र यातायातको व्यवस्था गरी भक्तजनहरूलाई सेवा प्रदान गर्दै आएका छन्। यहाँ पनि उनीहरूको चासो बढी नै अपेक्षित हुन पुगेको छ। उनीहरूले चासो दिने हो भने यो सेवा चाँडै सुचारु हुन सक्छ । हरेक काममा सरकारको मुख ताक्नु राम्रो होइन । सरकारले अरूको होस्टेमा हैँसे गरिदिने मात्र हो। होस्टे गर्ने जमर्को निजी क्षेत्रले नै गर्नुपर्छ । सरकारले निर्णय गर्ला र अघि बढौँला भनेर बस्नुभन्दा यस्ता क्षेत्रमा परिआए निर्णय गराउनै लागि पनि झकझक्याउन पछि पर्नुहुँदैन । अर्को कुरा सरकारले भन्दा निजीक्षेत्रले हात हालेको काम सफा हुन्छ, शीघ्र हुन्छ । संस्थागत भएमा काम गर्न सजिलो पर्छ। सम्बन्धित निकायलाई चाँडै सुनुवाइ गर्न कर लाग्छ ।
प्रतिक्रिया दिनुहोस्: