कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी वा प्रबोधनी एकादशी भनिन्छ । सृष्टिकालमा मधु र कैटभ नामका दुई दैत्यहरूसँग युद्ध गरी तीनलाई मारेपछि थाकेका भगवान् विष्णुले क्षीर सागरमा शेषनागको आसन लगाई शयन गर्नुभएको (हरिशयनी एकादशीका) दिनबाट आज चार महिना पूरा भयो । अर्थात् विष्णु भगवान्को चतुर्मास शयनावधि समाप्त भई आज जागा (व्युँझने) हुने दिन हो त्यसैले वर्षका २४ एकादशीहरूमध्ये यस एकादशीलाई ठूलो एकादशी पनि भन्दछन्। अन्य एकादशीमा सामान्य तवरले व्रत बसी नारायणको पूजा गरिन्छ भने यस एकादशीका दिन चार महिनादेखि तुलसीका मोठमा सारेर हुर्काइएको तुलसीको विवाह गरिदिई राधा दामोदर (कार्तिकमा लक्ष्मी र विष्णुका नाम) को पूजा गरी व्रत र उपासना गर्ने गरिन्छ ।
यस दिन हरेक घर घरमा तुलसीको मोठलाई सिङ्गारेर “राधा तुलसी दामोदराय नम :” आदि श्लोक लेखेर रङ्गीचङ्गी बनाउने, कन्दमूल (सखरखण्ड, पिंडालु, तरुल र आलु उसिनेर दही चामल,फलफूल र विभिन्न नैवेद्य बनाएर अनि ढकमक्क फूलेका सयपत्री, गोदावरी र मखमलीलगायतका किसिम किसिमका फूल र तिनका मालाले तुलसीको मोठलाई विवाह मण्डप झैं सिंगारिन्छ । आजैबाट चतुर्मास पुराण वाचनको पनि समापन हुन्छ। विष्णु भगवान् क्षिर सागरमा शयन गर्नुभएको यस चार महिनामा उनको पूजा र व्रतबाहेक अरू कुनै पनि माङ्गलिक शुभ कार्य गर्नु हुँदैन भन्ने धार्मिक मान्यताअनुसार गरिएको चातुर्मास व्रत र कार्तिकस्नान व्रतकोपनि आजै समापन हुन्छ ।
चतुर्मासव्रत समाप्ति र विष्णुनारायण जागा भई आफ्ना वासस्थानहरूमा पूर्ववत् रहनु हुने भएकाले यस दिन काठमाडौं उपत्यका लगायत देशभरका विष्णु मन्दिरहरूमा दर्शनार्थी भक्तजनहरूको भीड लाग्दछ । विशेष गरी काठमाडौं उपत्यकाका चार नारायण चम्पक नारायण (चाँगु), भक्तपुर । विशङ्खु नारायण, विशङ्ख, ललितपुर । शेषनारायण, फर्पिङ काठमाडौं र इचगु नारायण, इचङगु काठमाडौँमा विशेष भिड लाग्दछ भने बुढानिलकण्ठ नारायण, मत्स्यनारायण, सत्यनारायण, लक्ष्मीनारायण, चतुर्बाहुनारायण, छिन्न मस्तकनारायणलगायतका अनेकौ नारायण मन्दिरहरूमा मेला लाग्ने भएकाले दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ ।
व्रतविधि
एकादशीको व्रतका लागि अघिल्लो दिन बेलुका सात्विक भोजन गरी दाँत माझेर सुत्ने । एकादशीका दिन बिहान सबेरै ब्रह्ममुहूर्तमा उठेर नदी, कुवा, इनार वा जलाशयमा स्नान गरी उदाउँदो सूर्यलाई नमस्कार र वन्दना गरी जलार्ध दिएर चोखो लुगा लगाएर घर आई आफ्नो नित्य पूजादि कार्य सम्पन्न गरी भगवान् दामोदर नारायणको सहित तुलसीको पूजा गरी तुलसीको मोठमा पञ्चामृत, दहीचामल, सखरखण्ड, पिंडालु, तरुल, आलु, फलफूल, नैवेद्य र पक्वान्न नैवेद्य समेत चढाई राधा दामोदरको विवाह गरिदिनुपर्छ । दिनभर एकादशीको व्रत बसी एकादशी माहात्म्य भन्नु वा सुन्नु । साँझमा नित्य आरती पश्चात् राधा दामोदरको आरती गरी नसक्नेले फलाहार गर्नु र सक्नेले निराहार बसी रातभर नारायणको भजन किर्तन गाएर जाग्राम बस्नु र बिहान भएपछि नदि, कुवा, इनार वा जलाशयमा गई स्नान गरी उदाउँदो सूर्यलाई नमस्कार वन्दना गरी जलार्घ दिएर चोखोलुगा लगाई घर आएर नित्यपूजादि कर्म सकेर राधा दामोदरको पूजा गरी सुयोग्य ब्राह्मणलाई टीका लगाएर दक्षिणा दिई भोजन गराएर बिदा गर्नु र अनि सबै परिवार सहितले भोजन गरेमा एकादशीको व्रत पूर्ण भई सकल पाप नाश भएर पुण्य मिल्ने र मरेपछि वैकुण्ठमा बास पाइने कुरा भविष्योत्तर पुराणमा उल्लेख छ ।
व्रतकथा
भविष्योत्तर पुराणका अनुसार एक पटक देव, ऋषि नारदको ब्रह्माजीसँग भेट भएछ । उक्त भेटमा नारदजीले यस कार्तिक शुक्ल हरिबोधनी (प्रबोधिनी) एकादशीका बारेमा जान्ने इच्छाले सोध्नुभयो की हे परम पिता ! कार्तिक शुक्ल एकादशीलाई वर्षभरीका २४ वटा एकादशीहरूमा किन सबै भन्दा ठूलो एकादशी भनी बडो महत्वका साथ मनाउने गर्दछन् ? यो जान्ने ईच्छा भएकाले कृपा गरी मलाई बताई दिनुहोस् न भन्दा ब्रह्माजी भन्नुहुन्छ हे नारद! चार महिनासम्मको निद्राबाट ब्युँझेका नारायणमा अन्य बेलाको भन्दा बढी जोस, जाँगर र उत्साह हुन्छ । यस बेला उनलाई प्रसन्न गर्न सक्नेले चिताएको कुरा पाउने र सबै पाप नाश भई अन्तमा वैकुण्ठमा उनकै नजिक बस्न पाउने भएकाले यो एकादशी अरूभन्दा विशेष र ठूलो मानिएको हो । यसको सन्दर्भमा एउटा अघि सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती राजा थिए ।
उनी प्रतापी, धर्मात्मा र प्रजावत्सल पनि थिए। उनको राज्य सम्पन्न थियो, सबै प्रजा खुसी थिए। एकाएक उनको राज्यमा पानी पर्न छाड्यो र लगातार तीन वर्षसम्म पानी नपरेकाले देशमा अनिकाल पयो । जनता भोकभोकै परे सबैतिर हाहाकार मच्चियो । जनताले अन्न अभावमा धर्म, कर्म, यज्ञ, यज्ञादि कर्म गर्न सकेनन् । अनिकालले गर्दा जनता राजाकहाँ दुःख पुकार गर्न पुगे । राजा साह्रै दुखी भई मैले यस्तो के पाप कर्म गरेछु र यस्तो दण्ड भोग्नुपयो भनी चिन्तित भए । एक दिन उनी यसको कारण र उपाय पत्ता लगाउन सेना सहित जङ्गलमा गए। जाँदा जाँदा उनी ऋषि अंगिराको आश्रममा पुगे र त्यहाँ ऋषिलाई साष्टाङ्ग प्रणाम गरे । ऋषि अंगिराले राजालाई दुखी देखेर कुशल मङगल सोधे । तब राजाले साह्रै मलिन स्वरमा सबै कुरा बताए र यसको निदान कसरी हुन्छ भनी आफू ऋषिकहाँ आएको बताए ।
राजाका करुणायुक्त वचन सुनपछि ऋषि अङ्गगिराले ध्यानदृष्टिले हेरेर त्यहाँ एउटा शुद्रले तपस्या गरिरहेको देखे र भने हेर राजन सृष्टिमा हरेक वर्णको आ आफ्नै कर्म तोकिएको छ । शूद्रले आफ्नो कर्म छाडेर तपस्या गरेकोमा इन्द्र रिसाएर पानी पारेनन् । त्यसैले अनिकाल पयो । त्यो बन्द गराउ, अनि मात्र इन्द्रले पानी पारीदिन्छन् । इन्द्र खुसी नभएसम्म पानी पर्दैन । तव राजा अप्ठेरोमा परे र उनले भने यसको अर्को उपाय छैन ? कृपा गरी अन्य उपाय भए बताइ दिनुहोस् न भन्दा ऋषि अंगिराले भने त्यसो भए सुन – आफ्नो राज्यमा सबैलाई आ आफ्नो वर्णानुसारको काम गर्न लगाउ । दुर्भिक्षहरूलाई दण्ड देऊ र आफूसहित सबैजना बसेर कार्तिक शुक्ल एकादशीको दिन बिहान सबेरै स्नान गरी निराहार व्रत बसी राधा दामोदरको पूजा गर्नु भनी व्रतविधि समेत वताए । तव राजा ऋषिसँग बिदा भई दरवार आए र कार्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी)को दिन ऋषि अंगिराले बताएबमोजिम सबैजना भएर विधिपूर्वक व्रत बसे । यस व्रतका प्रभावले भगवान् विष्णु प्रसन्न भई इन्द्रलाई पानी पारिदिन आदेश दिए। त्यसबेलादेखि सदा झैँ पानी पर्न थाल्यो । बालीनाली सप्रियो र सहकाल लाग्यो, सबै जनता खुसी भए ।
तुलसी विवाह पर्व
हरिशयनी एकादशीका दिन विधिपूर्वक रोपिएको तुलसीको बिरुवा हुर्केर चार महिनाको भएकोले कार्तिक शुक्ल एकादशीका दिन श्रीकृष्णसँग विवाह गरिदिनुपर्छ। यसका लागि तीन दिन अघि कुष्माण्ड नवमीका दिनदेखि नै व्रत बसेर यस एकादशीका दिन सुनको कृष्णको प्रतिमा बनाएर तुलसी (राधा) को विवाह गरिदिने विधि शास्त्रमा उल्लेख भए अनुसार गर्ने परम्परा रहिआएको छ । यसो गर्न नसक्नेले यस दिन बिहान सबेरै ब्रह्ममुहूर्तमा उठेर नदि, कुवा, इनार वा जलाशयमा गई स्नान गरी उदाउँदो (अर्धोदित) सूर्यलाई नमस्कार वन्दना गरी जलार्ध दिएर चोखो लुगालगाएर घर आउने । घरमा आएर आफ्नो नित्य पूजादि कर्म सकी तुलसीको मोठमा लिपपोत गरी चारैतिर उखु, पैयूँ र केराका पात गाडेर लिङ्गा चौका गरी काँचो धागोले तीन फन्का बेरी सयपत्री फूल र गोदावरी फूलको मालाले बेरेर लालुपातेको फूलसहित अन्य फूलहरूको मुठो बनाई माथिबाट मयुरको प्वाँख राखी गजुर बनाउने, तोरण वस्त्र झुन्ड्याउने र तुलसीको मोठमा ‘राधा तुलसी दामोदराय नमः” भन्ने मन्त्र लेखेर तुलसीको पूजा गर्ने, कन्दमूल (सखरखण्ड, पिंडालु, तरुल र आलु उसिनेको र काँचो चढाउने, विभिन्न किसिमका फलफूल, नैवेद्य र दही चामल र पञ्चामृत चढाउने अनि श्रीकृष्ण र राधाको सुनको वा तामाको प्रतिमा वा तस्बिर राखेर राधा दामोदरको विवाह गरिदिने । यसो गर्नाले कन्यादान गरे सरह पुण्य मिल्ने कुरा शास्त्रमा यसप्रकार उल्लेख भएको छ।
स्वशाखोक्त विधानेन तुलस्याः करपीडनम् ।
कन्यादान फलंतस्य जायते नात्रसंशयः ।
यदि कसैले घरमा पीपलको वा अमलाको बिरुवा रोपेर हुर्काएको छ भने यस दिन तिनीहरूको पनि विधिपूर्वक विवाह गरिदिएमा अक्षम्य (सयकोटी कल्पसम्म नाश नहुने पुण्य मिल्नेछ भन्ने शास्त्रीय वचन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: