नेपालको विशिष्ट शक्तिपीठमध्ये बाराको बरियारपुरस्थित गढीमाई एक हो। यहाँ हरेक नवरात्रमा ठूलो मेला लाग्छ, लाखौँ पशुपक्षीलाई बलिदिने गरिन्छ । यो पीठ बलिदानका निम्ति दक्षिण एसियाकै सर्वाधिक ठूलो पीठमा पर्छ । यसका लागि नेपाल र छिमेकी मुलुक भारतको समेत निकै टाढादेखि हजारौं श्रद्धालु भक्तजन पशुपक्षीसहित आउने गर्छन् । यहाँको पाँच वर्षमा लाग्ने मेला झनै विशेष खालको हुन्छ । यतिबेला गढीमाईलाई दिइने पशुबलिकै सङ्ख्या बीसौँ हजार नाघ्छ। हास, कुखुरा तथा परेवा आदिका सङ्ख्या कति हो कति ।
धार्मिक सङ्घ, सङ्गठनहरू र पशुअधिकारवादीहरूका तर्फबाट देशविदेश सर्वत्र बलिदानको विरोध भएका छन्, विरोधमा उत्रने गरेका छन् । विरोधमा नारा, भाषण, जुलुस धेरै नै हुन्छन्। यदाकदा कतिपय धार्मिक सङ्घ, सङ्गठनका तर्फबाट पत्रकार सम्मेलन गरी अवरोध पुऱ्याउने कामसमेत भएको छ। यसमा हिन्दू, बौद्ध, मुस्लिम प्राय सबै धर्मावलम्बीहरूले समर्थन गर्ने गरेको पनि पाइन्छ। यसबाहेक यदाकदा अन्तर्राष्ट्रिय सङ्घ- संस्थाहरूसमेत विरोधमा उत्रेका छन्। तैपनि न बलिदान रोकिएको छ न आयोजक टसमस भएका छन् ।
धर्मनिरपेक्ष राष्ट्रमा सबैले आ-आफ्नो धर्मसंस्कार र परम्परालाई मान्न पाउनुपर्छ, गढीमाईमा शताब्दियौंदेखि बलिदानको काम हुँदै आएको छ कसैलाई वास्ता भएन, मुलुक धर्मनिरपेक्ष हुनेबित्तिकै किन रडाको, किन बढी चासो भन्ने आवाज पनि उठ्न सक्छ, भिनै स्वरमा उठिसकेको छ तर कुरो के हो भने बलिदान विरुद्धको आवाज गढीमाईमा चढ्ने बलिको मात्र होइन । जुनसुकै समयमा र जुनसुकै देवीदेवताको स्थानमा हुने बलिदान विरुद्धको आवाज हो। हिन्दूबाहेक अन्य जुनसुकै धर्मसंस्कृतिमा यस्तो परम्परा छ भने त्यसको समेत विरुद्धको आवाज हो यो । अर्को कुरो जति पुरानो भए पनि समयसापेक्ष हुन नसकेका परम्परा संशोधन हुनुपर्छ । संस्कृति भन्दैमा संशोधन गर्ने नमिल्ने भन्ने छैन, हुदैन। संस्कार र संस्कृति मानिसले नै बनाएका हुन्, समय सापेक्षा हुँदासम्म चल्छन् नभए परिवर्तन हुन्छन्, हुनुपर्छ, संस्कृतिलाई बचाइराख्ने हो भने। कसैको स्वार्थ पूरा गर्न अबोध पशुपक्षीले बलिवेदीमा चढ्नुपर्ने परम्परामा संशोधन गर्दा न देवता रिसाउँछन् न देवीहरू नै । बलिदान नगर्दैमा पूजाआजा रोकिने वा रोकिन्छ भन्ने पनि छैन । नरिवल, कुभिण्डो, काक्रो, बेल, उखु आदि वनस्पति चडाएर पनि पूजा गर्न सकिन्छ, यस्तो प्रावधान शास्त्रभित्रै छ, शास्त्रीय प्रावधान नै हो यो ।
पशुपक्षीको बलिदानबाट मात्र भगवती खुसी हुन्छिन् भन्नु घोर अन्धविश्वास हो। धर्मले भगवतीलाई आमाको स्थान दिएको छ । सारा संसार उनैको सन्तान मानिएको छ। आफूलाई खुसी पार्न आफ्नै सन्तानको बलिदिएको कुनचाहिँ आमालाई मन पर्ला सोझै अनुमान लगाउन सकिन्छ । बलिदानबाट धर्महुन्छ वा इच्छित कुरा पूरा हुन्छ भन्ने कुरा पनि कोरा कल्पना मात्र हो । भगवतीको स्थानमा रुदै काटिन गएको कुनचाहिँ पशुपक्षीले मेरो अमुक यजमानको इच्छा पूरा होस् भन्ला ? हामीले उसको भाषा बुझेका पो छैनौं त । के उसले तिम्रो सत्यनाश होस्, जसरी आज मलाई बलिवेदीमा चढ्नुपरेको छ एकदिन तिम्रो पनि अवस्था त्यस्तै होस् भनेको छैन होला ? कतिपय मानिस बलिदिएका पशुपक्षी स्वर्ग जान्छन् भन्छन् तर योभन्दा स्वार्थी कुरो अर्को सक्दैन। बलिवेदीमा काटिँदैमा स्वर्ग जाइने भए मानिस आफैँमा पहिले त्यसको प्रयोग किन गर्न चाहँदैनन्। पशुपक्षीकै बलिदान गर्ने हो भने पनि बाघ-भालुको दिने हिम्मत किन गर्दैनन् ? उत्तर कसले दिने ? सम्भवतः उत्तर कसैसँग पनि छैन किनकि उत्तर छदैछैन, कुनै पनि पशुपक्षीलाई स्वर्ग पठाउन बलि दिइएकै होइन ।
हो, धर्मशास्त्रमा बलिदानको कुरो आएको छ। विशेषगरी तान्त्रिक पूजामा यसको प्रसङ्ग भेटिन्छ तर वैदिक, तान्त्रिक र मिश्र गरी पूजा तीन किसिमका हुन्छन्। यिनमा वैदिक अर्थात् सात्त्विक पूजा नै सर्वाधिक उत्तम मानिएका छन्। वैदिक पूजा सर्वहितकारी हुन्छन्। सर्वहितको उद्देश्यले यसको आयोजना गरिन्छ । तान्त्रिक पूजामा अलिकति तलमाथि पर्नासाथ ठूलै अनिष्ट निम्तिन सक्छ। तान्त्रिक पूजामै पनि पशुपक्षीको बलिलाई प्रतीकको रूपमा लिइएको छ। पशुपक्षी भनेका जडस्वभावका प्राणी हुन्। धर्मको नाममा पूजा- पद्धतिले बलि मागेको छ भने आफ्नै जडस्वभावको हो, जसमा काम, क्रोध, लोभ, मोह आदि पर्छन्। मांस भक्षण मानिसको स्वभाव होइन, निहित गरिएको पनि छैन। यो राक्षसी स्वभाव हो, उसैलाई मात्र सुहाउँछ। वेदमै जीवलाई जीव चाहिन्छ भनिएकाले मासु खानुपर्छ भन्छन् कतिपय मानिस तर त्यो प्रकृतिको इको सिष्टमको कुरा हो। मानिसका लागि पशुपक्षी यो सिष्टमभित्र पर्दैनन्। नत्र मानिसको पनि शारीरिक संरचना मांसभक्षी जनावरको जस्तै हुनुपर्ने थियो ।
कतिपय मानिस वेदकै कतिपय प्रसङ्गमा बलिदानको कुरो आएकाले यसलाई निषेध गर्नुहुँदैन भन्ने पक्षमा देखिएका छन् तर वैदिक संहिताहरू र कतिपय गृहसूक्तहरूमा पशुबलिको प्रसङ्ग भेटिए पनि पछिल्लो वैदिकयुग अर्थात् उपनिषद् युगसम्म आइपुग्दा यी सबै अस्वीकृत भइसकेका छन्। आ-आफ्नो परम्परा सबैले मान्नैपर्छ, मान्न पाउनैपर्छ तर आफ्नो परम्परा धान्दा अरूलाई अहित गर्छ कि गर्दैन त्यतातिर पनि हेर्नुपर्छ। कदाचित् त्यस्तो छ भने त्यसको सुधार गर्नु मानिसकै दायित्वभित्र पर्छ। यसमा कसैले पनि यही नै हुनुपर्छ। भन्न सक्दैन। अरूको आग्रह मान्ने, नमान्ने हामी आफैँमा निर्भर गर्छ। केकसो गर्ने हो निर्णय आफैँले गर्ने हो तर निर्णय जति बढी सर्वहितकारी हुन्छ त्यति नै राम्रो हुन्छ भन्ने कुरालाई बिर्सन हुँदैन ।
बलिदानको अन्तर्य
बलिप्रथा ठीक वा बेठीक भन्नेबारे व्यापक मतभेद छ । यस सम्बन्धमा धेरथोर माथि पनि चर्चा भइसकेको छ। परम्परागत रूपमा चल्दै आएको प्रथालाई निरन्तरता दिनुपर्छ भन्ने पनि छन्, हुदैन भन्ने पनि छन् । परम्परा तोड्नुहुन्न भन्नेहरू बलिप्रथा रोक्नु भनेको पुर्खाप्रति अपमान गर्नु हो, अन्याय गर्नु हो भनिरहेका छन् । रोक्नुपर्छ भन्नेहरू परम्परा भन्दैमा नराम्रो कामलाई आँखा चिम्लेर समर्थन गर्नुहुँदैन, समय सापेक्ष भए निरन्तरता दिनुपर्छ नभए परिवर्तन गर्नुपर्छ भनिरहेका छन्।
सरसर्ती हेर्दा हाम्रा कतिपय धर्मशास्त्रमै पनि बलिदानलाई स्वीकार गरिएको पाइन्छ। खासगरी शक्ति उपासनामा यसलाई वैध मानिएको छ । सुमेधा ऋषिबाट माता भगवतीको स्वरूप, शक्ति र सामर्थ्य थाहा पाएपछि सुरथ राजा र समाधि वैश्यले आफ्नै तिघ्राको रगत निकालेर भगवतीलाई चढाएका थिए रे। यसको उल्लेख चण्डी सप्तशतीमा भेटिन्छ, जुन मार्कण्डेय पुराण अन्तर्गत पर्छ। चण्डी सप्तशती यस्तो ग्रन्थ हो, जसलाई ठूलठूला रोग तथा विपद् नाशका अचुक अस्त्र मानिन्छ । अहिले पनि त्यस्ता विपत्तिको क्षणमा यसैको पाठपूजा हुने गरेको छ। मांस भक्षण बढी हुने हिन्दूसमाजमा शक्ति उपासनाबाहेक अन्य देवी-देवतालाई पनि बलिदिने गरिएको उदाहरण छ। भगवान् पशुपतिनाथलाई समेत वर्षको एकपटक प्रकारान्तरबाट बलिदान प्रक्रियामा जोड्ने गरिएको छ भन्ने सुनिन्छ । वास्तविकता के हो भट्ट र भण्डारीहरूले नै प्रस्ट्याउने कुरा हो तर बाहिर सुनिएको कुरा यही हो । काठमाडौँको नेवारी परम्परामा गणेशजीलाई समेत बलि दिने चलन छ । थाहा छैन अन्य देवतालाई के गर्छन्। सायद अन्यत्र पनि यस्तै होला । इतिहास र पुराणकै कुरा गर्ने हो भने पनि विशेष यज्ञ अनुष्ठानमा बलिदान हुने गरेको उदाहरण छन् ।
भगवान् राम, जो अहिले पनि मर्यादा पुरुषोत्तमको नामले पुजित छन्। उनको शासनकालमा कुकुरले समेत न्याय पाउँथ्यो रे रामायणका रचनाकारहरूले भनेका तर तिनै रामले समेत अवस्थाअनुसार पशुबलि दिने गरेका उदाहरण छन्। ‘यसमा अश्वमेध यज्ञ बढी चर्चित छ जुन उनले दोस्रो पटकको सीता वियोगपछि गरेका थिए। भगवान् कृष्ण, जसलाई स्वयं परमहंस संहिता भागवतले पूर्ण ब्रह्मको संज्ञा दिएको छ। (श्रीमद्भागवत १/३/२८) जड, चेतन सबै प्राणी उनै परब्रह्म परमात्माका अंश मानिन्छन् । उनै कृष्णका जीवनमासमेत हुने गरेका बलिदानसम्बन्धी प्रशस्तै घटना फेला पर्छन्। यसबाहेक वैदिक ग्रन्थहरूमै पनि यस्ता उदाहरण नभेटिने होइनन् तर यी सबै रूपमा मात्र देखिने घटना हुन्, सारमा होइनन्। सारमा यसका वास्तविकता अर्कै देखिन्छ ।
वेद, पुराणादिमा जेजति बलिदानका कुरा आएका छन् कि तिनलाई संस्कार गरी छाडिदिने अर्थमा स्वीकारिएका छन् कि प्रतीकका रूपमा लिइएका छन्। उदाहरणका लागि पौराणिक गन्धमै आएको एउटा प्रसङ्गलाई लिन सकिन्छ, जहाँ महर्षि विश्वामित्रले राजा हरिश्चन्द्रको यज्ञमा गएर देवी-देवताले सुँघेर छाड्छन् मुखले खाँदैनन् भनेका छन्। उनले यसैबाट मौलोमा काट्न बाँधिएका अजिगर्त ब्रह्मणपुत्र शुनशेपलाई बचाएका छन्। यो प्रसङ्ग कमबेसीको रूपमा श्रीमद्भागवत र देवीभागवत दुवैमा आएको छ। भागवतमै आएको यससम्बन्धी अर्को प्रसङ्ग पनि उत्तिकै चासो पर्दो छ। देवी-देवताले नाकले सुँघ्ने गर्छन्, मुखले खाँदैनन्, त्यसैले यज्ञ पशुलाई आलम्भन (संस्कार) गरेर छाड्नुपर्छ मार्नुहुँदैन भनेका छन् व्यासजीले भागवतको नवयोगेश्वरको ज्ञानप्रकरणमा ।
यद् घ्राणभक्षो विहितः सुरायास्तथा पशोरालभन न हिंसा ।
एवं व्यवायः प्रजया न रत्या इम विशुद्ध न विदुः स्वधर्मम् ।
(श्रीमद्भागवत ११/५/१३)
जहाँसम्म वेदमै उल्लेख भएको अश्वमेध यज्ञको कुरो छ त्यसको उत्तरबृहदारण्यक उपनिषद्ले दिएको छ।
वस्तुतः वेदले भनेको अश्वमेध यज्ञ घोडा मार्ने यज्ञ होइन। विशुद्धरूपमा राष्ट्रको कल्याण र समृद्धिमा समर्पित भई गरिने यज्ञ हो, जुन कुरा शतपथ ब्राह्मणमा प्रस्ट उल्लेख छ। यो माध्यन्दिनीय वाजसनेयशुक्लयजुर्वेदाध्यायीहरूको ब्राह्मण गन्ध हो। यस कुरालाई बृहदारण्यक उपनिषद्ले थप प्रस्ट पार्दै भनेको छ- ‘अश्वमेध यज्ञमा पूजा गरिने घोडा भनेको मूलतः अग्नि, वायु, सूर्य, दिन, रात, सन्ध्या, द्यावा, भूमि जस्ता यावत् प्राकृतिक पक्ष वा तिनीहरूप्रतिको सम्मान वा समर्पण हो जुन सूर्य किरण जगत्सित सम्बन्धित छ वा जसले जगत्को रक्षा गर्छ, जगत्को रक्षा गर्ने भएकैले जो मेध्य छ अर्थात् पवित्र मानिएको छ त्यही नै अश्व हो। त्यसलाई शुद्ध पार्न वा प्रदूषित हुन नदिन जेजति कर्म गरिन्छ त्यही नै अश्वमेध यज्ञ हो।’
अश्वमेध भन्नेबित्तिकै घोडा मार्ने अर्थमा लिने हो भने घोर अनर्थ निम्तिन सक्छ। किनभने वेदमा गोमेध यज्ञको पनि कुरा आएको छ । पितृमेध यज्ञको कुरा पनि आएको छ। वैदिक मन्त्रद्रष्टा ऋषिमुनिहरू, जसले सर्वहितकारी कार्यलाई नै जीवनको एकमात्र लक्ष्य बनाउदै आएका थिए उनीहरूले गोमेध (गोहत्या) र पितृमेध (पितृहत्या) जस्तो जघन्य अपराधको कुरा त्यो पनि यज्ञको अर्थमा गरे होलान् भनेर कल्पनासम्म गर्न सकिदैन। शतपथ ब्राह्मणमा उल्लेख भएअनुसार उनीहरूले जुन गोमेध यज्ञको कुरा गरेका छन् त्यो भनेको गौ अर्थात् पृथ्वी, अन्न, इन्द्रिय, किरण, (सूर्यकिरण) आदिलाई पवित्र राख्न गरिने यज्ञ हो । त्यस्तै पितृमेध यज्ञ भनेको बाबु मरेपछि उनको नाममा गरिने अन्तेष्टि यज्ञ अर्थात् संस्कार हो, जसले कर्मभोगका लागि मृतकलाई अर्को संसार खडा गरिदिन्छ। अन्यथा मृतकले अनन्तकालसम्म अनन्तमा प्रेतवायु बनेर भड्किनुपर्ने हुन्छ। वेदका मन्त्रहरू जति रहस्यमय हुन्छन् त्यति नै अर्थगर्भित पनि। उनीहरू सरसर्ती हेर्दा एउटा अर्थवाची जस्ता देखिन्छन् तर उनीहरूका वास्तविक अर्थ अर्कै हुने गर्छन्। बलिदान प्रक्रियालाई पनि यसैभित्र लिनुपर्ने हुन्छ ।
चाहे वैदिक संहिताहरूको कुरा गरौं चाहे उपनिषद् वा इतिहास र पौराणिक ग्रन्थहरूकै सबैले चराचर जगत् एउटै ईश्वरको रूप भएकाले सबैलाई आफैँ समान व्यवहार गनुपर्छ भनेका छन्। उनीहरूकाअनुसार कसैलाई मार्नु, काट्नुको कुरै छाडौँ कसैप्रति घृणा र तिरस्कारसम्म गर्नुहुन्न । जहाँ धर्मलाई मार्गदर्शन गर्ने धार्मिक ग्रन्थहरू आफैँ हत्या वा हिंसा भनेको काटमार गर्नु मात्र नभई कसैको मानमा, इज्जतमा, ख्याति आदिमा चोट पुग्ने काम गर्नु पनि हिंसा नै हो भनिरहेका छन् भने त्यस्तो धर्ममा बलिदानले वैध स्थान पाउने प्रश्नै आउन्न। आकाशदेखि अन्तरिक्षसम्म, पृथ्वीदेखि औषधी र वनस्पतिसम्म शान्ति र सद्भावको कामना गर्ने श्रुतिले हिंसामय यज्ञको कुरा गर्यो होला भनेर पत्याउन सकिन्न । न आत्मनः प्रतिकुलानि परेषां नसमाचेत् को शिक्षा दिने स्मृतिपरक ग्रन्थले नै हिंसामय यज्ञलाई स्वीकृति दियो होला
भनेर पत्याउन सकिन्छ ।
बरु के चाहिँ हो भने यज्ञ अनुष्ठान भनेको असल कर्म वा राम्रा काम हुन् । राम्रो काम गरेपछि नराम्रो काम छाड्नुपर्छ अर्थात् जहाँ नराम्रो काम हुँदैन त्यहीँ राम्रो कामको उपस्थिति सम्भव हुन्छ । यज्ञअनुष्ठान गरिसकेपछि बलिदान दिनु भनेको तिनै खराब सोच, चिन्तन वा व्यवहार त्याग्नुपर्छ भन्ने हो। शक्ति उपासनासम्बन्धी ग्रन्थहरूमा आएको बलिदानका प्रसङग पनि यस्तै हुन्। शक्ति उपासना गर्नु भनेको शक्तिवान् हुने प्रयास गर्नु हो । शक्तिवान् हुनु भनेको रोग, भोक, शोक आदि आफूलाई दुःख दिने तत्त्वलाई परास्त गर्न सक्नु हो। प्रश्न उठ्न सक्छ त्यो कसरी सम्भव हुन्छ ? उत्तर सहज छ हामी जब आफैँभित्रको दुर्गुण र दुर्वव्यहारलाई बलिदान गर्न सक्छौं तब स्वतः शक्तिवान् हुने वातावरण तयार हुन्छ। माता भगवती शक्तिशाली छिन्, जे पनि पचाउन सक्छिन् तर हामी सक्दैनौँ। बलिदान भनेका ती सबै खराब चीज उनलाई समर्पण गरेर आफू ढुक्क हुनु हो, सुरक्षित हुनु हो ।
प्रतिक्रिया दिनुहोस्: