नेपालमा पर्यटनको इतिहास

२१ कार्तिक २०८१
के.बि. मसाल
के.बि. मसाल

मानिस पर्यटकको रुपमा अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगि राखेका हुन्छन । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । पर्यटनको क्षेत्रमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायतका दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने आजभोली होड नै चलेको छ । पर्यटनको लागि नेपालमा प्राकृतिक सांस्कृतिक र ऐतिहासिक सम्पदा लोभ लाग्दा छन । तिनै कारणले बिश्वका पर्यटक नेपालमा आउने गर्दछन् ।
प्राचिन समयमा रोमन रिपब्लिक कै समयदेखि ठूला भवनहरु हेर्ने, कलाकौशलको मजा लिन, नयाँ भाषा, रहनसहन सिक्न, नयाँ सस्कृतिको अनुभव लिन र विभिन्न प्रकारका स्वादिष्ट भोजनहरुको स्वाद लिन धनाढय मानिसहरु आफ्नो बासस्थानबाट टाढा टाढाका ठाउँ वा देशहरुमा पुग्दथे । त्यो समयमा रोममा डिसेम्वर महिनालाई मनोरञ्जनको महिनाको रुपमा लिने गरिन्थ्यो । मनोरञ्जनको क्रममा साटुनानिया पर्व मनाउन अफगानिस्तान, सुमात्रा, जावा, श्रीलंका आदि स्थानको भ्रमण गर्दथे तर त्यस बखत यसलाई पर्यटक र पर्यटन व्यवसायको रुपमा लिइएको थिएन । यसै क्रममा सन १९७२ मा पर्यटक भन्ने शब्द र सन १८११ मा पर्यटन भन्ने शब्दको प्रयोग भएका हुन । फुर्सदको समयमा पर्यटकको रुपमा बाहिरी वातावरणमा विताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि शुरु भएको हो । सन १८३० मा बेलायतको लिभरपुलदेखि मेनचेष्टरसम्म रेलसेवा शुरु भयो । त्यसपछि थमस कुकले ट्राभल ऐजेन्सी मार्फत समूहगत रुपमा भ्रमण गराउन थालेका हुन ।
विश्वमा पर्यटनको इतिहासमा अठारौं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिएको छ । विशेषगरी सन १९४३ देखी सन १९७३ सम्मको ३० वर्षको अवधिमा पर्यटकहरुको यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ  । पर्यटनको इतिहासमा नेपालको भूमीमा टेक्ने पहिलो पर्यटक मन्जुश्री हुन भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मन्जुश्री नेपाल प्रवेश गरेर काठमाण्डौ उपत्यकाको जलाशयलाई चोभारको डाडालाई गल्छी बनाएर पानीलाई निकास दिएर उपत्यकामा मानव बस्तीको विकास गरेका थिए । लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटीलाई सन ५९२ मा तिब्बती सम्राट स्रोङचनगम्पो सग विवाह गरी नेपालसंग सम्बन्ध गाँसिएको थियो । बैवाहिक सम्वन्धबाट तिब्बत गए पनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पहिलो नेपाली पर्यटक मानिन्छ ।
सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । नेपाल संसार भरी हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै छन । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । त्यसपछि रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७÷५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थाले । त्यहीबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिकाको वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो ।
तर पर्यटन अवधारणा भने सन १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । सन १९६० को दशकमा यूरोपेली देशहरुमा लागूपदार्थ ओसारपोसार र सेवन विरुद्धको कानूनहरु ल्याउने लहरै चल्यो तर नेपालमा भने त्यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच यूरोपेली युवाहरु यूरोपको तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउन थाले । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो तर आजभोली नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिन्छ । पछिल्लो समय नेपालमा प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, स्काई ड्राइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर अवलोकन गर्न नेपालमा आउने गर्दछन ।
पर्यटनको लागि नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रमणिय मानिन्छ । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो र विश्वमा पहिचान छ । पर्यटनको बिकासले अतिथि देवो भवः संस्कार संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन वरदान सावित भएको छ । नेपालमा मनाइने चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशका पर्यटकहरुका लागि अनौठो लाग्दछ । कतिपय पर्यटकहरु सस्कृतिकै अध्ययनका लागि पनि नेपाल आउने गर्दछन् । नेपाली समाजको विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिको अध्यनमा पर्यटकहरु रमाउछन । यहाँको विविधता हेर्न अवलोकन गर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानकर्ताका लागि पनि पर्यटकहरुको रोजाइ नेपाल पर्दछ । बिश्वमा सानो भूगोलभित्र प्राकृतिक विविधता, असंख्य जातजाति र भाषा संस्कार संस्कृतिले भरिपूर्ण भएको देश नेपाल मात्रै होला । त्यसैले सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रामक कार्यक्रमको खाँचो छ । पर्यटकीय स्थलहरुको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास र प्रवद्र्धनका लागि अब प्राथमिकता योजना ल्याउनु पर्दछ । पर्यटनको बिकासका लागि ऐतिहासिक पर्यटकीस्थल गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गरिनु पर्दछ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्या पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनु पर्दछ । पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रुपमा लिइने पर्यटकहरुका लागि सुरक्षित सडक, बासस्थान अर्थात होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटनको विकास हुन्छ । अब नेपालमा पर्यटनको बिकासका लागि लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाजआदिको संरक्षण गरी सबै प्रदेशमा सांस्कृतिक संग्रहालयको स्थापना गर्न पर्दछ ।
पर्यटनको क्षेत्रमा प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा भएर पनि त्यसको महत्व पर्यटकहरुलाई बुझाउन सकेका छैनौ । नेपालमा पर्यटकहरुको लागि धेरै आकर्षणका गन्तब्यहरु छन । नेपालमा यति धेरै प्राचीन मन्दिरहरु, मस्जिदहरु, किल्लाहरु र अन्य ऐतिहासिक स्थानहरु छन जुन विभिन्न देशका पर्यटकहरुले हेर्न चाहन्छन । नेपाली मौलिक कला तथा संस्कृतिमा पर्यटकहरु रमाउछन् । नेपालमा पर्यटन प्रर्वद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सिगारेको धेरै ठाउँहरु छन । प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधता मात्र होइन पर्यटकहरुका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, मठ मन्दिर र ऐतिहासिक सम्पदा पर्यटनका गन्तब्य बनेका छन् । पर्यटनकै माध्यमबाट संस्कृतिको आदान प्रदान हुन्छ । पर्यटक बढने बित्तिकै देशमा विदेशी मुद्रा भित्रिन्छ । यसले राज्यलाई फाइदा त हुन्छ नै, सँगसँगै पर्यटन व्यवसायीलाई पनि फाइदा पुग्दछ ।
पर्यटन प्रबद्र्धनका लागि प्रकृतिले हामीलाई धेरै चीजहरु प्रदान गरेको छ । जुन पर्यटकहरुले मन पराउँछन । पर्यटकहरु नेपालमा प्राकृतिक सुन्दरतासंग सम्न चाहन्छन । नेपालमा पर्यटनको क्षेत्रमा सबै ठाउमा पूर्वाधार नबन्दा केहि समस्याहरु छन । मुख्य समस्याहरु यातायात र सुरक्षा हुन । अधिकांश पर्यटकहरुलाई मन पर्ने सौन्दर्य ठाउँहरु दुर्गम क्षेत्रहरुमा पर्दछन । ती सबै स्थानहरुमा पर्यटकहरु पुग्नका लागि सडकहरु निर्माण भएका छैनन् । दुर्गम क्षेत्रहरुमा पर्यटकहरुलाई बस्न सुबिधा जनक होटलहरु छैनन । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि ६ हजार भन्दा बढी छन् । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा पर्दछन् ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ । सरकारले पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? किनकी हरेर वर्षमा नेपाली पर्यटकको सख्यालाई नियाल्ने हो भने पनि खासै प्रगती हुन सकेको छैन ।
नेपाल पर्यटनको सम्भावना भएको देश हो । यसमा द्विविधा छैन । यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै पनि छैन । विज्ञान, प्रविधि र संचार प्रणालीमा भएको अभूतपूर्व विकासले समुच्च विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको छ । नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्व सामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार हो । पर्यटन ब्यवसायबाट आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु पर्दछ । नेपालका गाउँहरु पर्यटनका लागि सुन्दर गहना हुन । नेपालका हरेक गाउँका फरक फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, भेसभुसा, भाषा, चाडपर्वहरु छन । ती सबै मौलिक प्रकृतिका छन । जुन कुरा पर्यटकहरुले मन पराउछन । पर्यटकहरुलाई हरेक गाउँले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछन । त्यसकारण राज्यले ती सबै गाउँको पर्यटन प्रवद्र्धनको योजना बनाउनु पर्दछ ।
नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रुपमा विश्वमा पहिचान छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु नै पर्यटन विकासका प्रमुख आधारका हुन्छ । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता क्षेत्रहरुले पर्यटकलाई आकर्षण गर्दछन । नेपालको भूगोलमा प्रत्येक १० किलोमिटरको अन्तरमा फरक–फरक हावापानी पाइन्छ । अर्को तर्फ सांस्कृतिक रुपमा पनि धनी रहेको नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १३१ र धर्म संख्या १० कायम भएको छ । यसरी हेर्दा नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारको सम्भावना धेरै छ । पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता छ । यसो हुन सकेको खण्डमा नेपाल रहेका सम्पदाहरुको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसरको श्रृजना गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ । तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्र समेतको सहभागिता चाहिन्छ ।
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले फडको मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । नेपालमा भित्रिने पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा पर्यटकको सख्यामा कमि देखिएको छ । जसले गर्दा पर्यटन व्यवसायिहरुको व्यवसाय समेत धरापमा पर्ने गरेको छ ।
नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रुप लिदै गएको छ । विभिन्न देशहरुमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरु वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ । पर्यटनबाट लाखौं मानिसहरुलाई रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवन स्तरमा पनि ठूलो अन्तर पार्दछ । त्यसरी पर्यटनले विश्वस्तरमा नै एउटा ठूलो उद्योगको रुप लिंदै गएको छ । नेपालमा पनि पर्यटन क्षेत्रको क्रमश विकास हुँदै गइरहको छ । पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । पर्यटनमा प्रशस्त अवसरहरु हुन्छन् । पर्यटनको क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्: